परिवारको खर्चको विडो थाम्दै ६० बर्षिय धन बहादुर

डोटीको जोरायल गाउँपालिका २ सेलाका ६० बर्षिय धन बहादुर सार्किले परिवारको खर्च छालाको जुत्ता बनाउने व्यवसायबाट धान्दै आएका छन । दैनिक वुडर बजारमा रहेको खोकामा बसेर उनले जुत्ता बनाई बेच्दै आएका छन । जुत्ता बनाउने देखि फाटेको जुत्ता मर्मत गर्नमा उनी विहानको झिसमिसे देखि साँझको सुर्य अस्ताउदा सम्म लागि रहन्छन । जुत्ता बनाउदै आएका धन बहादुरले २०५९ सालमा सुर्खेतमा चाहे अनुसारको डिजाइनमा जुत्ता बनाउनका लागि तालिम समेत लिएका छन । तालिम लिए पछि गाउँकै समुहबाट दश हजार रकम लगानी गरी हातैले जुत्ता सिउने कार्य गर्दै आएका थिए । २०७५ सालमा इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच (यु.एस.एस.वि.एम.) कोे सहकार्यमा सञ्चालन हुदै आएको साहस परियोजना अन्र्तगत उनलाई नौ हजार सहयोग गरिए पछि उनले जुत्ता सिउने मेसिन खरिद गरेका छन । जुत्ता सिउने मेसिनमा केही रकम परियोजना अन्र्तगत उपलव्ध भएको र केही रकम उनले थपेका हुन । पसलबाट दैनिक उनले पाँच सय देखि एक हजार सम्म आम्दानी गर्दै आएका छन । उनले बनाएको जुत्ता एक हजार देखि दुई सम्ममा बिक्री हुने गरेको छ ।
उनले बनाएका जुत्ता स्थानिय बजार घरेलु, गैरा, जोगबुढा सम्मका व्यक्तिहरुले खरिद गरेर लैजाने गरेका छन । बजारमा पाईने जुत्ता भन्दा बलियो टिकाउ र मजबुत सिलाई हुने भएकाले सबैले उनले बनाएको जुत्ता मन पराउने गरेका छन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरको संक्रमणका कारण पहिला जस्तो उनको पसलमा हाल बिक्री छैन । पहिला धेरै ग्राहकहरु जुत्ता किन्न र फाटेको जुत्ता सिउनका लागि पुग्दथे । हाल थोरै ग्राहक मात्रै पसलमा पुग्न थालेपछि आम्दानी पनि घटेको छ ।

कोरोनाको डरले उनले टाढाको धनगढी बजार पुगेर पसलमा आवश्यकता भएको सामान समेत ल्याउन सकेका छैनन् । युवाहरुले नयाँ प्रकारका चलनचल्तीमा रहेका जुत्ताको माग गर्छन । उनी संग नयाँ जुत्ता बनाउने साँचाको अभाव भएको छ । जुत्ताको सोल, किलाकाँटा, छाला, धागो आम्दानी घटे पछि पसलमा थप्न सकेका छैनन् । तीन जनाको परिवार उनी संग रहेको छ । छोरालाई छालाका जुत्ता बनाउने सीप सिकाई दक्ष बनाए पछि उनका छोराले धनगढीमा छालाको जुत्ताको पसल सञ्चालन गरी घरघरेडी जोडी त्यही बस्दै आाएका छन । उनी भन्छन, ‘मैले थोरै कमाए पनि सीप सिकाएको छोराले चाहेजती आम्दानी गर्दै आएकाले सन्तुष्ट छु ।’ गाउँमा धन बहादुर संग जग्गा भने घरवासका लागि मात्रै रहेको छ । घरको खर्च धान्ने एउटै साधन भनेको त्यहि पसल मात्रै हो । उनका बुवा बाजेले भारतमै काम गरेर खाए पनि उनी स्वदेशमै केही गर्नु पर्छ भनेर छालाको जुत्ता बनाउने पेशामा निरन्तर रुपमा लागि रहेका छन । बर्षौ देखि छालाको जुत्ता बनाउने पसल सञ्चालन गर्दै आएपनि कुनै निकायबाट सहयोग भएन यु एस एस वि एम ले सहयोग गरेको धन्यवाद दिन चाहन्छन ।